दक्षिण एसियाली मुलुक भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफलतापूर्वक अवतरण गराएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा यान सफलतापूर्वक उतार्ने भारत पहिलो देश बनेको छ ।
प्रक्षेपण गरेको ४० दिनमा तीन लाख ८४ हजार चार सय किलोमिटरको दूरी पार गर्दै चन्द्रयान– ३ भारतीय समयअनुसार बुधबार साँझ ०६:०४ बजे चन्द्रमाको सतहमा अवतरण भएको हो । यानलाई भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान ‘इसरो’ले १४ जुलाईमा दक्षिण भारतस्थित श्रीहरिकोटा प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरेको थियो ।
चन्द्रयानको अवतरणलाई इसरोले नियन्त्रण कक्षबाट लाइभ प्रसार गरेको थियो । लाइभमा ब्रिक्स सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिकाको राजधानी जोहानेसबर्गमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि जोडिएका थिए ।
चन्द्रयानले सफल अवतरण गरेपछि प्रधानमन्त्री मोदीले यो भारतको मात्र नभई सम्पूर्ण मानवताकै सफलता भएको बताए । ‘भारतको सफल चन्द्र–अभियान भारतको मात्र होइन । यो अभियान मानव–केन्द्रित दृष्टिकोणमा आधारित छ र यसको सफलता सम्पूर्ण मानवताको सफलता हो,’ प्रधानमन्त्री मोदीले लाइभ प्रसारणबाट सम्बोधन गर्दै भने ।
इसरोका प्रमुख एस सोमनाथले यो इसरोका एक पुस्ताका वैज्ञानिकहरूको काम भएको बताए । उनले भने, ‘यो हाम्रो एक्लो काम होइन, यो इसरोका एक पुस्ताका वैज्ञानिकहरूको काम हो ।’
यानमा ल्यान्डर, रोभर र प्रोपल्सन मोड्युल्ससहित तीन भाग छन् । यानको कुल तौल एक हजार सात सय किलोग्राम रहेको छ । यानमा चन्द्रमाको भित्री सतहको हलचलको समेत चालपाउने सिस्मोमिटर पनि समावेश छ । यो अभियानमा करिब सात करोड ५० लाख डलर (पाँच अर्ब २० करोड भारतीय रुपैयाँ) खर्च भएको बताइन्छ ।
चन्द्रमाको यही क्षेत्रमा अवतरण गर्ने उद्देश्यले गएको रुसी अन्तरिक्ष यान लुना २५ इन्जिनमा खराबी उत्पन्न भएपछि चन्द्रमाको सतहमा अगस्ट १५ मा ‘क्र्यास’ भएको थियो । पछिल्लो ४७ वर्षमा रुसको यो पहिलो चन्द्र अभियान थियो ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd