
काठमाडौँ । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ ।
विश्वमै लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा शासन गरेकी महारानी एलिजाबेथ द्वितीय पर्छिन् । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार दिउँसो उनको निधन भएको हो ।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् । उनले थुप्रै रेकर्ड पनि कायम गरेकी थिइन् । एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् ।
एलिजाबेथलाई ‘स्थायित्व र निरन्तरता’ को प्रतिनिधित्व गर्ने शालीन राष्ट्राध्यक्षका रुपमा लिइन्छ । पारिवारिक जीवनमा उनी कैयौं अप्रिय घटनाको साक्षी बनिन् तर विचलित भइनन् । एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन् । उनी बेलायतको महारानी बन्ने सम्भावना निकै कम थियो । तर सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो ।
महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गरेकी छन् । उनले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन् । महारानी एलिजाबेथले गद्दी आरोहण गरेको ७० वर्षको अवसरमा गत जुनमा भव्य समारोह आयोजना गरिएको थियो । चार दिन सार्वजनिक बिदा दिएर गरिएको ‘प्लेटिनम जुब्ली’ समारोहमा दसौं लाख बेलायतीले भाग लिएका थिए ।
त्यस अवसरमा महारानीले राजकुमार चार्ल्स, ड्युक अफ केन्टलगायत शाही परिवारका सदस्यमाझ राजदरबारको बाल्कोनीबाट सैनिक र हजारौं सर्वसाधारणलाई हात हल्लाएर हौसला प्रदान गरेकी थिइन् । उनले नेपालप्रति पनि सद्भाव राख्ने गर्थिन् । खासगरी गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष सम्बन्ध थियो ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd