काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरस (कोभिड-१९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो । त्रिविले हिउँदे बिदा सधैँ नै यही पुस १५ देखि २३ दिन र वर्षे बिदा जेठ १५ देखि २२ दिन दिँदै आएको थियो ।
कोभिड–१९ को कारणले गत २०७६ चैत ६ गतेदेखि कुनै परीक्षा र पठाइ सञ्चालन भएको छैन । त्रिविले स्थानीय तहको स्वीकृतिमा भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिइसकेको छ । रजिष्ट्रार डा.दाहालका अनुसार अहिले धेरै क्याम्पसले स्थानीय तहको स्वीकृत र स्वास्थ्यको मापदण्ड पूरा गरे भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गरिरहेका छन् ।
त्रिविले कोभिड–१९ का कारणले अनलाइन कक्षा सञ्चालन गरेको थियो । उहाँले त्रिवि केन्द्रीय क्याम्पसमा पढाई सञ्चालन गर्न किर्तिपुर नगरपालिकाबाट अनुमति मागिएको बताए । यस्तै उपत्यकाका क्याम्पस सञ्चालन गर्न पनि सरकारसँग अनुमति मागिएको छ । “उपत्यकाका कक्षा सञ्चालन गर्न सरकारसँग हामीले अनुमति मागेका छौँ”, उनले भने, “सरकारले पनि सबै ठाउँ खुला गरेको सन्र्दभमा क्याम्पस पनि सञ्चालन गर्न पक्कै दिने छ । हामीले स्वीकृति पाउनासाथ कक्षा सञ्चालन गर्ने तयारीमा छौँ ।”
यस्तै गत चैत ६ गतेदेखि रोकिएका त्रिविका परीक्षा पनि सञ्चालन भएका छन् । मङ्सिर दोस्रो सातादेखि त्रिविका रोकिएका परीक्षा सञ्चालन भएका हुन् । त्रिविले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन हालको परीक्षा समयमै सम्पन्न गर्न एवम् अर्को वर्ष सेमेष्टरको बाँकी पढाइ पनि सम्पन्न गर्ने तयारी गरेको छ । उनले चैत्रभित्र सबै परीक्षा सञ्चालन गर्ने बताए । रासस
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd