काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैं तथा महत्वपूर्ण चाडपर्वमा बजार अनुगमनलाई तीव्रता दिएको छ ।
विभागले चाडपर्वका बेला बजारमा उपभोक्तामाथि हुन सक्ने ठगी न्यूनीकरण गर्न एकीकृत बजार अनुगमनमा जोड दिएको हो । त्यसका लागि विभागले विषयगत निकायसँग समन्वयन गरेको जनाएको छ ।
बजार अनुगमनका लागि विषयगत निकाय जस्तै, गुणस्तर हेर्ने खाद्य विभाग र नापतौल हेर्ने नापतौल विभाग, औषधि व्यवस्था विभाग लगायतका निकायसँग पनि समन्वय गरेको विभागका निर्देशक रवीन्द्र आचार्यले बताए । उनले ती विषयगत निकायबाट पनि एक÷एक जना प्राविधिक कर्मचारी उपलब्ध भइसकेको बताए ।
चाडपर्वका बेला वस्तु तथा सेवाको खरिद बिक्री बढी हुन्छ । चाडपर्वकै बेला ठूलो परिमाणमा वस्तुको खरिद बिक्री भइरहँदा त्यसको मूल्य र गुणस्तरमा पनि ध्यान दिनुपर्ने हुन्छ । चाडपर्वका बेला व्यापारीले बढी मूल्य लिएको तथा गुणस्तहीन वस्तु बिक्री वितरण गर्न नदिई उपभोक्ता ठगिनबाट जोगाउन नियमित बजार अनुगमन गर्ने गरिन्छ ।
यसवर्षको दशैंमा पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले रणनीतिक रूपमा बजारमा अनुगमन सुरु गरेको छ । ‘हामीले चाडपर्व पूर्वसन्ध्यामा रणनीतिक बजार अनुगमन सुरु गरेका छौं । थप जनशक्ति मगाएर वा अतिरिक्त अनुगमन टोली परिचालित गरेका छौं ।’ विभागका निर्देशक रवीन्द्र आचार्यले भने, ‘काठमाडौं, ललितपुर र भक्तपुर एरियालाई टार्गेट गरेका छौं । त्यस्तै, खासगरी ७७ वटा जिल्ला प्रशासन कार्यालय, ७ ओटै प्रदेश र स्थानीय सरकारलाई पनि परिचालित गरेका छौं ।’
व्यापारीले गुणस्तर र मूल्यमा उपभोक्तालाई नठगुन भनेर कडाइका साथ अनुगमन गर्ने आचार्यले बताए । काठमाडौं उपत्यकामा हकमा ललितपुर र भक्तपुरमा दुईवटा टोली, कोटेश्वर र चाबहिल क्षेत्रमा एकवटा टोली, महाराजगन्ज क्षेत्रमा एक टोली, टोखा–बालाजु क्षेत्रमा अर्को टोली, कलंकी–सीतापाइला अर्को टोली र ‘कोर’ मार्केट जस्तै न्युरोड र असन क्षेत्रमा अर्को एक टोली बजार अनुगमनका लागि परिचालन गरिएको विभागले जनाएको छ ।
मुख्यतयाः खाद्यान्न दाल, चिनी, तेल, चामल, नुनलगायतका वस्तुको अनुगमनका लागि विषयगत टोली छ । माछा, मासुजन्य वस्तु, तरकारी तथा फलफूल, लत्ताकपडा तथा कस्मेटिक पसल, पेट्रोलियम पदार्थ तथा इन्धन, औषधिजन्य वस्तु, मास्क, स्यानिटाइजर लगायतका पसलको अनुगमन गर्ने छुट्टाछुट्टै बिषयगत अनुगमन टोली खटाइने निर्देशक आचार्यले बताए ।
चाडपर्व लक्षित अनुगमन गर्न १७ जना प्राविधिक कर्मचारी माग गरिएको छ । उनीहरुलाई विभागले बजारमा कसरी उपस्थित हुने, अनुगमन कसरी गर्ने लगायतका विषयमा प्रशिक्षण दिइसकिएको छ ।
बजार अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा ६ वटा महानगर र ७ वटा प्रदेशमा स्थानीय र प्रदेश सरकारका एक/एक जनालाई निरीक्षण अधिकृत तोकिएको छ । उनीहरुलाई तीन दिन प्रशिक्षण दिइसकिएको विभागले जनाएको छ ।
खुद्रा व्यापारी थोक व्यापारी, उत्पादक, आयातकर्ताबाट आफू ठगिएको महसुस भयो भने वाणिज्य विभागको हट लाइन नम्बर ११३७ मा खबर गर्न आग्रह गरिएको छ । वा जुनसुकै ग्राहक तथा उपभोक्ताले आफू ठगिएमा सो नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd