काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन् । सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन् ।

५ मध्ये चार शिशु जिवितै रहेको र एक शिशुको जन्म हुनु अघि नै मृत्यु भइसकेको थियो । अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको हो ।

शल्यक्रियामा डा. सुवेदीको नेतृत्वमा डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेन रहेका थिए भने, एनेस्थेसियामा डा. मुकेश कुमारले नेतृत्व गरेका थिए । त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गरेकी थिइन् भने बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले बच्चाहरुको स्वास्थ्य अवस्था हेरिरहेकी छन् । शल्यक्रियामा संलग्न चिकित्सक डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई एन आईसियूमा अब्जर्भेसनका लागि राखिएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको छ ।

४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल रहेको छ । अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ । प्रसुति गृहमा नियमित गर्भ जाँच गर्दा तामाङको तीन साताअघि भिडियो एक्सरे गर्दा एक बच्चाको गर्भमै मृत्यु भएको थाहा भएको थियो ।

सो बच्चा मृत्यु भएको थाहा पाएपछि चिकित्सकले अस्पतालमा नै राखेर उपचार गरिरहेको डा. सुवेदीले बताए । एकै महिलाले एकै पटकमा ५ बच्चा जन्माएको दुर्लभ केस मानिन्छ ।

नेपालमा चार जनासम्म जन्माइएको धेरै रेकर्ड रहे पनि पाँचवटा बच्चा एकैपटक जन्मिनु निकै दुर्लभ रहेको उनको भनाइ छ । सुवेदीले यसबारे आफ्नो सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय