काठमाडौँ । आइतबार साँझ दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्राण्डी ल्याइपुर्याइएको हो । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले आइतबार साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँचिएको साथै छाती र अन्य भागमा समेत चोट भएकाले थप उपचारका लागि काठमाडौँ ल्याउनुपरेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का बासिन्दा भण्डारी महेन्द्रनगरबाट घर फर्किँदा दुर्घटनामा परेका हुन् । उनको मोटरसाइकल पछाडि बसेका करन ठगुन्ना भने सामान्य घाइते छन् । दुर्घटनालगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो ।

उनलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विनोद भण्डारीले जानकारी दिए । ठक्कर दिने मिनीट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक घटना लगत्तै फरार रहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन् । पछिल्लो समय उहाँ नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका थिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय