उज्यालो पोखिनु अघि
ब्युँझिसकेर बा ले
जीवनको धुन सुनाए

सुनाइन् आमाले
पटुकाले हिम्मत कसेर
डोको नाम्लोसँगै संघर्षको गीत

आफ्नै खुसीलाई ठिहीले समाएपनि
ओसिएको अगुल्टोलाई फकाईफूलाई
आशाको झिल्को जोरेर
हृदय जोगाउन सिकाइन् आमाले

डोको बुन्दा बा ले
घाँस दाउरा बढि अट्ने आशाले
कहिल्यै सानो बुनेनन्
घाँस काट्दा आमाले
कहिल्यै निम्ठोमात्र भरिनन्

पकाएर खोले फाँडो
कलिला अनुहारमा खुसी लेख्न
बा ले दिनभरी घामलाई पसिना बेचे
आमाले हातको ठेला फुटाएर
बेलुकालाई खुसी बटुलिन्
दुखेको कसैको घाउमा
बरु आफैलाई दुखाएर
मल्हम लगाए बा–आमाले

जीवनको एउटा रंगमञ्चबाट
देश पढ्न निस्किदा
महामहिमको शासन देखेर
मेरो मस्तिष्कको अक्षर आफै हराउन थालेको छ
निर्दोष चेहरालाई कानुनको लौरी देखाएर
त्यहि लौरी मौसुफले भाँचेको देख्दा
मेरो टाउको फनफनी घुमिरहेको छ

सपनाको फेरो समात्दै
भाग्यको अक्करे भिर उक्लिन
लामबद्ध जोशलाई डाँडो कटाएर
उसकै पसिनाले अत्तर छर्किने महामहिम ज्यू,
सुझाव दिइबक्सियोस् मलाई
बा–आमाले सिकाएझैँ बुद्ध बनु ?
कि मौसुफले सिकाएझैँ हिटलर ?

– कृष्ण कट्टेल

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय