रुपन्देहीको सीमावर्ती नगरमध्येको एक हो–लुम्बिनी सांस्कृतिक नगरपालिका। बुद्ध जन्मस्थल लुम्बिनी समेत रहेको यो नगरपालिकाको ६ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । चैत ११ गतेको लकडाउनपछि यहीँको सीमानाका भएर थुप्रै नेपाली घर फर्किए । वैशाख र जेठ महिनामा यहाँ संक्रमण दर पनि तीब्र थियो। पछिल्लो समय सक्रिय संक्रमितको संख्यामा धेरै कम आएको छ । प्रस्तुत छ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरीसँग कोरोनाको नियन्त्रण, व्यवस्थपन तथा आगामी तयारीका बारेमा लुम्बिनी टाइम्सका लागि फेवा नेपालमा साभार गरिएको सुदीप भण्डारीले गरेको कुराकानी ।
-
लुम्बिनी सांस्कृतिक नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमणको अवस्था के छ ?
पहिले जस्तो अवस्था छैन । अहिले संक्रमितको संख्या धेरै घटेको छ । हाल ३ जना मात्र आइसोलेसनमा हुनुहुन्छ । उहाँहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ । पहिलेका संक्रमितहरु निको भएर घर फर्किइसक्नुभएको छ ।
-
वैशाख–जेठ महिनामा कस्तो अवस्था थियो ?
त्यतिखेर भारतबाट घर फर्कनेको संख्या धेरै थियो । फर्केका जतिलाई हामीले क्वारेन्टिनमा राख्यौं । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ४४ बेड र श्रीलंका गेष्ट हाउसमा ८३ बेडको क्वारेन्टिन बनायौं । त्यहाँ पनि अभाव भएपछि प्रत्येक वडाका विद्यालयहरुलाई व्यवस्थापन गर्यौं ।
-
कोरोना संक्रमण देखिएकाहरुको व्यवस्थापन कसरी गर्नुभयो ?
सुरुमा पोजेटिभ आएकाहरुलाई बुटवल र भैरहवा पठायौं । त्यतिन्जेलसम्म हामीसँग संरचना तयार थिएन। पछि नगरपालिकामै व्यवस्थापन ग¥यौं । क्वारेन्टिन रहेको लुम्बिनी विश्वविद्यालयको भवनमा आइसोलेसन बनायौं । त्यहाँ रहेका संक्रमितहरु निको भएर घर फर्किनुभयो । विस्तारै क्वारेन्टिन र आइसोलेसनहरु खाली भए । अहिले पहिलेजस्तो अवस्था छैन ।
-
लुम्बिनीमा संक्रमण नफैलिएको हो कि परीक्षण नभएर थोरै संख्या देखिएको हो ?
अहिले हामीकहाँ पहिलेजस्तो भारतबाट आउने क्रम रोकिएको छ । नगरपालिकाको वडा नम्बर १२ र १३ मा गरी ६ किलोमिटर सीमा क्षेत्र छ । सीमामा कडाइ गरिएको छ । त्यसैले त्यताबाट जोखिम छैन। विदेशबाट केही आउनुभएको छ। उहाँहरुको हामीले निगरानी गरिरहेका छौं। यस अघि हामीले समुदायमा पनि नमुना परीक्षण गरेका थियौं । वडा नम्बर १ मा २५ र वडा नम्बर ५ मा २५ जना गरेर ५० जनाको परीक्षण गरेका थियौं। सबैको नेगेटिभ आएको थियो । पछिल्लो पटक त्यही ३ जना मात्र पोजेटिभ देखिएका हुन् ।
-
कोरोना नियन्त्रण र व्यवस्थापन कसरी गर्नुभयो, कतिपय स्थानमा संक्रमितलाई बस्तीनजिक राख्न पाइदैन भनेर विरोध भएका थिए, स्थानीयबासिन्दाको कस्तो भूमिका रह्यो ?
शुरुदेखि नै हामीले नगरका वडा र टोल–टोलमा सचेत गराएका थियौं । वडाध्यक्ष, सदस्य, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी खट्नुभएको थियो । गाउँमा कोही आउँदा नै घरकाले नै हामीलाई जानकारी गराउनुहुन्थ्यो । हामीले एम्बुलेन्स पठाएर बाहिरबाट आएकालाई क्वारेन्टिनमा ल्याएर राख्थ्यौं । लुम्बिनी सांस्कृतिक नगरपालिका भारतसँग जोडिएकाले यहाँ ओहोरदोहोर बढी थियो। कतिपयलाई सम्झाउन पनि निकै गाह्रो भयो । बाहिरबाट आएकालाई हामीले क्वारेन्टाइनमा लैजान खोज्दा मेयरसाप छोडदिनुस् मेरो छोराले के गरेको छ ? किन क्वारेन्टिनमा राख्नुहुन्छ भनेर आउनुभयो । तर अहिले कोरोनाप्रति सचेत हुनुहुन्छ ।
-
कोरोना नियन्त्रणको लागि प्रदेश र संघ सरकारसँग कसरी समन्वय गर्नुभयो ?
हामीले प्रदेश र संघसँग समन्वय गरेरै काम गर्यौं । मुख्यमन्त्रीसँग पनि सिधै कुराकानी गरेर समस्याहरु समाधान गरेका थियौं । संघका संयन्त्रहरुसँग पनि छलफल भयो। जिल्ला प्रशासन, स्वास्थ्य कार्यालयलगायत सबैसँग मिलेर हामी अघि बढ्यौं । त्यसकारण नै अहिले हामीकहाँ संक्रमितको संख्या थोरै छ ।
-
अहिले जस्तो अवस्था छ त्यही अवस्था नरहन सक्छ, फेरि महामारी फैलियो भने नगरपालिकाको तयारी के छ ?
हामीहरुले कोभिड नियन्त्रणको लागि एउटा समिति नै बनाएका छौं । त्यसमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु पनि हुनुहुन्छ । वडा नम्बर १ मा बुद्ध आदर्श माध्यमिक विद्यालयमा १७ बेडको आइसोलेशन छ । संक्रमण फैलियो भने थप संरचना बनाउँछौं । नगरपालिकाका स्वास्थ्यकर्मीसँगै प्रत्येक वडामा २ जनाको दरले स्वास्थ्यकर्मी हुनुहुन्छ । उहाँहरु सबै अहिले कोरोनामै केन्द्रित हुनुहुन्छ ।
-
कोरोना महामारीका कारण भारत तथा अन्य मुलुकबाट रोजगारी गुमाएर आएका वा नेपालमै पनि रोजगारी गुमाएकाहरुको लागि नगरपालिकाले के व्यवस्था गरेको छ ?
उहाँहरुको लागि पनि हामीले केही योजना बनाएका छौं । हामीहरुले तरकारी खेती, कुखुरा पालनको लागि केही न केही अनुदानको व्यवस्था गरेका छौं । उहाँहरुले कति क्षेत्रमा तरकारी खेती गर्नुहुन्छ, त्यही अनुसारको अनुदान उपलब्ध गराउँछौं ।
मलाई लाग्छ, भारतलगायत बाहिरी मुलुकबाट फर्किनुभएकाहरु अब फेरि जागिरका लागि उतै फर्किनुपर्दैन । नेपालमै, आफ्नै घरमा बसेरै केही गर्न सकिन्छ । त्यसका लागि हामीले सहयोग गर्छौं । साभार : लुम्बिनी टाइम्सका
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd