जीवनको अकाट्य सत्य यही हो कि भविष्य अनिश्चित छ, मृत्यु निश्चित छ र मरेर कसैले केही लिएर जान सक्दैन, तसर्थ अहंकार, व्यर्थ छ  । रिस–राग, क्रोध, अहंकार, लोभ, मोह, इश्र्या, बदला र द्वन्द्व अज्ञानता र मुर्खता शिवाय केही होइन ।

भ्रष्टाचार, चोरी, ठगी, हिंसा, द्वन्द्व, बदला आदि, काम, क्रोध, लोभ, मोह, इश्र्या र घमण्डकै उपज हुन्  । यत्ति बुझ्यो भने त मान्छे मान्छे बनिहाल्छ । यत्ति सत्य बुझ्नलाई मानिसलाई बर्षौ लाग्छ । शब्द र बोलीमा बुझे पनि कतिले यसलाई मनन गरेका हुदैनन् र व्यवहारमा उतार्न सक्दैनन् र कतिले जीवनभर पनि नबुझेर यसै मरेर जान्छन्  ।

यही सत्य यतिबेला नोभेल कोरोनले बारम्बार स्मृति गराइरहेछ र बुझाउन कोशिश गरिरहेछ मानव जातिलाई  ।

कोरोना काण्ड
कोरोनाले गर्दा यतिबेला मान्छेले भोग्नु परेका अनेकौ सास्ती सँगसँगै धेरै सकारात्मक कुरा पनि दिएको छ समयले लखर-लखर डुल्ने बानी परेका मान्छेहरु घर बस्न थालेका, सहरमा रहरको खहर पु¥याउन आएकाहरु गाउँको महत्व बुझेर गाउँ फर्कदै छन्, जान्ने, गन्नेमान्ने, ठुलो धनी भन्ठानेर अरुलाई मान्छे नगन्नेहरु पनि घमण्ड गर्न छोडेका छन्  । अजम्बरी खाएजस्तो व्यवहार गर्नेहरु, बैंकमा पैसा राखेर भोकै सुत्नेहरु पनि जाबो मरिलाने चोला भन्न थालेका छन् ।

प्रकृति, जीवन, प्रेम र सम्बन्धलाई फरक कोणबाट हेर्न थालेका छन्, यिनका मूल्य र महत्वलाई बेग्लै तरिकाले बुझ्न थालेका छन्, छुट्टै जीवनशैली बाँच्न अभ्यास गर्दैछन्, एक्लै ज्यून सिक्दैछन्, कसैलाई नटेर्नेहरु पनि जान्ने बुझ्नेको कुरा सुन्न थालेका छन्, रोबोट जस्तै ब्यस्त चल्ने मान्छेहरु आराम, योग र व्यायाम गर्न थालेका छन्, आफ्ना प्रतिभा देखाउन थालेका छन्, गुमेका र गुमाएकाहरुको शोक, आफु मर्ने शंका संगै, डरत्रास बिनाको जीवन बाँच्ने कल्पनामा छिटो-छिटो सास फेरिरहेका छन्  ।

कोभिड-१९ को महामारीले यतिबेला संसारका मै हुँ भन्ने देशहरुको पनि सातो लिइरहेको छ । मान्छेले यतिबेला मान्छेबाटै डराएर भाग्नु पर्ने बिडम्बना भोगिरहेको छ  । चीनबाट सुरु भएको कोरोन भाइरस आफुलाई संसारकै दादा ठान्ने र विश्वकै दाता मान्ने अमेरिकाको थाप्लोमा उभिएर पैसा र प्रविधिको आडमा जे पनि गर्न सकिन्छ भन्ने भ्रममा बाँचिरहेको युरोपलाई गिज्याइरहेको छ ।

जुन कुरामा पनि माथि बस्नु पर्ने अझ भनौं पहिलो बन्नु पर्ने अमेरिका कोरोना संक्रमणको सूचीमा पनि पहिलो नम्बरमा नै उभिएको छ भने कोरोनाले अष्ट्रेलियाको सातो लिँदै युरोपका इटाली, स्पेन, जर्मनी, युके, स्वीट्जरल्यान्ड र बेल्जियमदेखि युरोपमा राज गरिरहेका नर्बे, डेनमार्क, स्विडेन लगायतका देशहरुको सेखी झार्दै यतिबेला एशिया र अफ्रिकाको भोक, निन्द्रा हराम गर्दैछ ।

जसका कारण विश्व अर्थतन्त्र दिनानुदिन धरापमा पर्दै गैरहेको छ । कोरोनाले थिलोथिलो पारेका इटली, स्पेन, जर्मनी लगायतका युरोपेली मुलुकहरुको अवस्था भयाबह छ भने नर्वे डेनमार्क लगायत अन्य युरोपियन मुलुकहरुको स्थिति त्यति भयाबह नदेखिए पनि कोरोना कहर खेपिरहेकै छन्  । नर्वेको प्रसंगमा भन्ने हो भने केही समय पहिले स्थिति यस्तो भयो कि कोरोनाले सधैँका लागि डाँडो काटिसक्यो, मान्छेहरुले संसारभरि कोरोनाको बिगबिगी छ भन्ने समेत भुलेको जस्तो जीवनशैली देखिन थाल्यो ।

तर केही दिनमै लगत्तै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि फेरि झन्डै लकडाउनकै जस्तो जीवनशैलीतिर फर्कन बाध्य भए र यसरी यो कोरोना संक्रमण कम भए पनि वा रोकिए पनि फेरि कुनै पनि बेला अचानक बढ्न वा फिर्ता आउन सक्दोरहेछ भन्ने भोगाइ र बुझाइले झन् एक खालको निराशा थपिदिएको छ ।

कोरोनाले सिकाएका पाठ
सिङ्गो विश्वलाई नै आक्रान्त बनाएको कोभिड-१९ को महामारीले मानव बिनाससँगै आधुनिकताको नाममा प्रकृतिलाई नै भुल्दै गएको आजको दुनियालाई धेरै नै पाठहरु सिकाइरहेको छ । कोरोना संक्रमणले चेपिएको विश्व चित्रलाई नियाल्दा मानिसहरु आफ्नो जीवनको मूल्यमान्यता नै बिर्सेर, आफ्नो धर्मसस्कृति, संस्कार र सभ्यतालाई बेवास्ता गर्दै खोक्रो आडम्बरमा बाँचिरहेका थिए, जरो नै बिर्सेर टुप्पोमा रमिरहेका थिए अथवा भनौं मान्छेको शुद्ध अस्तित्व शान्ति र प्रेम हो भन्ने यथार्थ भुलेर क्रोध, अहंकार, लोभ, मोह, इश्र्या, बदला र हिंसाको दलदलमा रमाइरहेका थिए  । विज्ञान र प्रविधिको घमण्डमा प्रकृति विपरित कार्यहरु गरिरहेका थिए  ।

जस्तो कि अन्तरिक्षमा, मंगलग्रहमा, चन्द्रग्रहमा जान रहर गर्नु, त्यहाँ पुगेर मर्नु, आफु जस्तै पञ्चतत्वले बनेको जीव जनावरलाई ज्युँदै ज्युनार गर्नु आदि । ब्रह्माण्डमा कोही र केही पनि पूर्ण छैन  । यानिकि प्रकृति पनि अपूर्ण छ  । आफैले मान्छेलाई जिज्ञासु प्राणी बनाइदिएपछि जिज्ञासाले कहाँ कहाँ पुग्लान्, पु¥याउला, के के गर्लान्, गराउला भन्ने त प्रकृतिले पनि सोच्नु पथ्र्यो र सोचेकै होला तर आफ्नो ग्रह नै छोडेर अर्को ग्रह हेर्न, हावा नै नभएको ठाउँमा गएर सास फेर्न अनि आफ्नो मुटुको धड्कन र सासको महत्व नै भुलेर आफुले बनाएको स्क्रिन दुनियामा यत्ति सारो रमाउलान् र आफ्नै घरसंसार सिध्याउने बम बनाएर गर्व गर्लान्, विजय उत्सव मनाउलान् भन्ने चाहिँ सायद प्रकृतिले पनि सोच्न भ्याएको थिएन जुन प्रकृतिको पनि कमजोरी होला ।

प्रकृतिले पनि मान्छेले यतिसम्म गर्ला भनेर सोचेकै थिएन र मान्छेले प्रकृतिको गणित मै नभएका कर्म गर्दै गएकोले प्रकृति आफै अचम्ममा छ सहायद र मानिसका यस्तै क्रियाकलापले गर्दा प्रकृतिको सिस्टम इरोर हुन्छ, जसले महामारीको रुप लिन्छ ।

इतिहासले देखाउँछ कि प्रकृतिले पनि प्रत्येक सय बर्षमा आफ्नो सिस्टम अपडेट गर्छ र हिसाब किताब बिग्रिएपछि, लेखा अडिट नमिले पछि सिस्टम इरोरका रुपमा विभिन्न खाले महामारी आउँछन्, जस्तै १७२० मा प्लेग, १८२० मा कोलेरा, १९२० स्पेनिस फ्लु र २०२० मा कोरोना र यसरी इरोर बढ्दै बढ्दै गएर एक दिन प्रकृतिले आफ्नो सिष्टम, आफ्नो गणित, आफ्नो लेखा आफैले बुझ्दैन र आफ्नो विधि र विधानलाई नै फेर्छ, सिङ्गै सिर्जनालाई भत्काउँछ, जसलाई कलियुगको अन्त्य वा प्रलय भनिन्छ र फेरी नयाँ सिर्जना, नयाँ सिस्टम विकास गर्छ होला  ।

मानिसका प्रकृति बिपरितका कर्महरु बढ्दै बढ्दै गएपछि प्रकृति स्वयम् नै भ्रममा पर्ने र सोही कारण प्रलय भई संसार सिद्धिने भनाई साँच्चै सत्य होला । आजभोलि मान्छेहरु बच्चादेखि बुढासम्म कम्प्युटर, टिभी, मोबाइलका स्क्रिनभित्र आफुलाई कैद गरेका छन् । प्रकृतिसँग आफुलाई जोड्ने फुर्सद कहाँ हुनु, जसले उनीहरुलाई जीवित राखेको छ, मुटु धड्काइदिइरहेको छ, सास चलाइदिइरहेको छ ।

तसर्थ, बुझ्ने हो भने मानिसले प्रकृतिलाई बिर्सिदै गयो भने प्रकृतिले पनि मानिसलाई भुल्दै जान सक्छ, मानिसले प्रकृतिको बिपरित, प्रकृतिको बिरुद्धमा प्रकृति जो उसको रचयिता हो, जीवनदाता हो, उसैसंग सिघौँरी खेल्दै गयो भने प्रकृतिले पनि आफ्नो कर्तव्य भुल्न सक्छ भन्ने संकेत पनि हो कोरोना महामारी , भूकम्प, सुनामी लगायतका महामारीले मानिसलाई प्रकृतिको अस्तित्व अपडेट गरिरहे पनि मान्छेको दिमागले त्यो बुझेको छैन, बुझ्दैन वा बुझ्न खोज्दैन तर अब मनुष्यले धर्तीको र प्रकृतिको अर्ति चाहीँ सुन्नै पर्छ है ।

आफुले बनाएको प्रविधिमा मान्छे यतिसम्म लिन भयो कि आज बिस्तारै मान्छेले प्रबिधि हैन प्रविधिले नै मान्छेलाई चलाइरहेछ । सानो दुधे बालक देखि बुढा हजुरबाआमासम्म मोबाइल हातमा नलिई शान्ताले बस्न सक्दैनन्, छटपटी हुन्छ, नखाई बरु बस्न सक्छन्, कति त टिकटक नहेरी बस्न सक्दैनन् अचेल , कर्मको नाममा हेर्ने हो भने एकले अर्कोलाई कसरी हुन्छ हेला गर्न, ठग्न र लुट्न थाले, पसिना त बग्न छाडे, अन्न फल्ने खेतबारी छोडेर सबै सहर लागेका छन्, सहरमा रहर नपुगे पछि, हात मुख जोड्नै गाह्रो भएपछि कति रहरले कति बध्याताले परदेश हानिएका छन्  ।

घरमा एक जनाको कमाइले ६–७ जना बसेर खाने, कर्मठ युवा शक्ति टिकटकमा व्यस्त छ, आफैलाई भुलेर नक्कली आँसु र नक्कली हाँसोको पछाडि अन्धधुन्द दौडेका छन् । हलो जोत्ने काँधमा क्यामरा हालेर हिँडेका छन् । अरुको परिवारमा कलहको आगो बालेर आफ्नो भात पकाएका छन्, बाउसे गर्ने हातमा मोबाइल र कम्पुटर राखेर युटुब खेतीमा लागेका छन् । कसैलाई अर्थहीन उचालेका छन्, कसैलाई स्वार्थका खातिर पछारेका छन् । कोही मिडियामा, कोही कृषिमा, कोही शिक्षामा, कोही व्यापारव्यवसायमा लागेर राम्रोसंग सकारात्मक ढंगमा विभिन्न कार्य क्षेत्रमा लागे त राम्रो नि ! तर सबैले मोबाइल, कम्प्युटर र क्यामरा बोकेर जीवन यापन गर्न खोजे पछि कसरी हुन्छ ? खेत रोप्ने, कोदो रोप्ने पसिनामा मोति फलाउने औलाहरु मोबाइल र टिकटकमा र सामाजिक सञ्जालमा लीन छन् ।

टिकटकमै खान्छन्, त्यही बोल्छन्, हाँस्छन्, नाच्छन्, प्रेम गर्छन्, झगडा गर्छन्, धोका दिन्छन्, सबथोक सामाजिक सञ्जालमै गर्छन् । कतिपय व्यक्तिहरु अचेल हुँदा हुँदा अब बिहे पनि सामाजिक सञ्जालमै गर्ने होलान् अनि भेटै नभई एकैचोटि सामाजिक सञ्जालमै पारपाचुके गर्ने होलान् ।

यस्तो पाराले संसार कसरी र कतिन्जेल चल्ने होला ? पहिले र अहिले, जमाना फेरिए साइँली बोलको गीतमा भनिए झैँ जमाना त फेरिए तर कस्तो भने पहिले पहिले खेतीबाली लाउन, थन्क्याउन अर्मपर्म गरिन्थ्यो, अहिले सामाजिक सञ्जाल, जस्तै युट्युव, टिकटक आदि चलाउन अर्मपर्म लाइन्छ । आधुनिक प्रविधिको तिब्र विकाससँगै मान्छेका सोच र कर्म पनि यसरी बदलिँदै गएका छन् जसले भोलिको मानव अस्तित्वकै खतरा संकेत गरिरहेछ । तर संकेत पाउना साथ त्यसलाई मनन गरेर अघि बढ्यो भने अवश्य पनि खतरा मुक्त हुन सकिन्छ ।

तसर्थ, अझै पनि मान्छेले यो कुरा बुझेर, मनन गरेर आफ्नो कर्मको चक्र सही दिशामा घुमायो भने अझै पनि सायद समय छ सुध्रिने र सुधार्ने ।विकसित मानिएका पश्चिमेली मुलुकहरु त झन् विज्ञान र प्रविधिको आडमा जे पनि गर्न सम्भव छ भन्ने भ्रममा अल्झिरहेका थिए । एउटा बटन दबाउँदा संसार सिध्याउने बम बनाएर संसारलाई, प्रकृतिलाई नै आफ्नो कब्जामा लिन सकेको भ्रममा बाँचिरहेको मान्छे आज प्रविधि त परको कुरा, मर्दापर्दा सम्झिने छिमेकीका कुरा पनि छोडौं, आफ्नै श्रीमतीले घिटीघिटी अवस्थाको आफ्नै श्रीमान्लाई अनि आफ्नै आमाले मर्न लागेको आफ्नो सन्तानलाई अंगालो हालेर माया, हात र साथ दिनुको साटो तर्केर बस्नु पर्ने अवस्थाको कल्पना पक्कै कसैले गरेका थिएनन् । संसार सिध्याउने बम बनाउने मानिसले एउटा सानो भाइरसको औषधि पत्ता लगाउन नसकेको यथार्थले कसैको शारीरिक संरचनालाई हेरेर नजरअन्दाज गर्न हुदैन रैछ भन्ने पाठ सिकाइरहे कै छ ।

मनुष्य जीवन र भविष्य मात्र होइन वास्तवमा यो संसार नै अनिश्चित छ । कुनै पनि बेला जे सुकै पनि हुन सक्छ । त्यसकारण, अहंकार गर्नु व्यर्थ छ’ भन्ने कुरा प्रष्ट पार्दै मानिसलाई आफ्नो लागि आफु नै हो, आफ्नो मित्र पनि आफै हो र शत्रु पनि आफु नै हो । वास्तवमै कसैको लागि कोही हुँदैन, परिआएका बखतमा भन्ने पाठ प्रष्टैसँग सिकाउन भ्याएको छ कोरोनले ।

मानिस जन्मेपछि सबै कुरा अनिश्चित भएपनि यौटा कुरा चाहीँ सास्वत निश्चित छ र त्यो हो मृत्यु । तसर्थ मृत्युसँग डराएर बाचुन्जेल पनि कायर जिन्दगी बाँच्नु भन्दा मृत्युको सास्वत सत्यलाई स्वीकारेर आत्मसात गर्दै, तयारीका साथ जति बाँचिन्छ मुस्काएर बाँच्न सक्नु पर्छ भनेर पनि स्मृति गराई दिएको छ कोरोनले । हामी सबै कुराको तयारी गर्छौं तर यस्तो अकाट्य सत्य मृत्युको तयारी सायदै कसैले करेका हुन्छौँ ।

योगीहरु मृत्युको तयारी गरेर बसेका हुन्छन्, कुनै पनि बेला मृत्यु आउँदा त्यस्तो आत्तिएर होसै हराउन पर्दैन । भनिन्छ त्यसरी हुने मरण एक सफल मरण पनि हो जसले प्रकृतिको सत्य बुझेको र पछ्याएको छ र जसको अघिल्लो जन्म पनि सहज हुन्छ । त्यसैगरी, ध्यान, योग, साधना जस्ता संस्कृति र सभ्यता मानिसका लागि धेरै उपयोगी थिए र छन् । त्यसैगरी वनजंगल, जडीबुटी प्रकृतिले नै मानव हित र सेहदका लागि योजनाबद्ध रुपमानै बनाइदिएको हो ।

तर यस तर्फ खासै चासो दिँदैन मान्छे र बरु उल्टै जीव हत्या र हिंसा गरी रगत, मासु र हड्डीका औषधि बनाएर आफनै उमेर र शरीरसँग पनि व्यापार गर्न खप्पिस भएको छ । अर्काको आँशुमा अर्काको समवेदनामा ब्यापार र राजनीति गर्न सिकेको छ । त्यसैले, कोरोना आफुलाई जसले बनायो उसैसँग सिघौँरी खेल्ने दुष्प्रयासको नतिजा नहोला पनि भन्न सकिन्न । किनभने विज्ञान र प्रविधिले जति नै फड्को मारे पनि मानिसले प्रकृतिलाई कहिल्यै जित्न सक्दैन । यो त थोपोले सागरलाई हराउन खोज्नु जस्तो मात्रै हो ।

प्रकृतिले दिएका पञ्चतत्वलाई जित्न सक्ने एउटा पनि तत्व मान्छेले न आजसम्म बनाउन सकेको छ न भविष्यमा बनाउन नै सक्ला, बनायो नै भने पनि प्रकृतिको जस्तो कहाँ होला र ! कल्पना गरौँ, यदि मान्छेले हावा बनायो भने कति महँगो हुन्छ होला, मान्छे बिहानदेखि बेलुकीसम्म त्यो बाहेक अरु केहि सोच्नै भ्याउथेनन् होला !

कति भ्रष्टचार, मूल्य वृद्धि र राजनीति होला, तर प्रकृतिले हावा, पानी, जमिन, प्रकाश, आकाश सबै निःशुल्क दिएको छ । तर यस तर्फ मानिसको खासै ध्यान जान्न । गाह्रो नपरी चेत्दैन मान्छेले ! सजिलै र निशुल्क पाएको कुराको महत्व बुझ्दैन । सके प्रकृतिको बिधि र बिधान बुझौँ, सम्मान गरौँ, नसके पनि प्रकृतिको अपमान नगरौँ, बिरुद्धमा नजाउँ अन्यथा प्रकृतिलाई पनि आउँछ यसको प्रतिवाद गर्न भनेर पनि मनुष्यलाई जानकारी दिएर याद दिलाइरहेको छ कोरोनले यतिबेला ।

बाआमाले सन्तान जन्माउँछन् र आशा राख्छन् कि बुढेसकालको साहारा होला भनेर र त्यो सन्तानको कर्तब्य पनि हो । प्रकृतिले पनि हामीलाई बनायो, जीवन दियो र दिइरहेछ । प्रकृतिको मान गर्नु, रक्षा गर्नु हाम्रो कर्तब्य हो । तर अहिले त प्रकृतिको रक्षा हैन बिनास मात्र नगरिदिए पनि ठुलो कुरा ! अज्ञानताले मुर्खता जन्माउँछ, मूर्खताले घमण्ड, घमण्डले अशान्ति, अशान्तिले क्रोध र क्रोधले अहंकार अनि अहंकारले बिनाश जन्माउँछ । किताब पढेर समाचार र सामाजिक सञ्जाल चहारेर चाहिनेभन्दा बढी जानकारी मात्र संकलन गर्नु भन्दा, आफुलाई चाहिने सकारात्मक जानकारी सँगै मनको किताब पढेर, प्रकृतिको इशारा बुझेर, अन्तरज्ञानको खोजी गरौँ, अन्तर ज्ञानको दैलो खोलौँ भन्ने पनि समयको सुझाब छ यतिबेला जुन मानव जातिले मनन गर्न जरुरी छ ।

त्यस्तै भौतिक शारीरिक रुपले टाढा हुँदा कसरी पारिवारिक, सामाजिक सम्बन्ध बनाइराख्ने भन्ने कोरोनाले सिकाएको अर्को पाठ हो । छुटेका, फुटेका नातासाइनोहरुलाई जुटाउनमा पनि कोरोनाले भूमिका खेलेको छ । त्यसैगरी सबैभन्दा महत्वपूर्ण कुरा मानिसले स्वस्थ्य भएर बाँच्न पाउनु पर्दोरहेछ यानिकि ‘धन केही हो भने स्वास्थ्य सबै हो’ भन्ने बास्तबिकता पनि दोहो¥याइदिएको छ ।

पहिला-पहिला पनि महामारी आउने गर्थे तर त्यतिबेला मान्छे एउटा गाउँबाट अर्को गाउँ पनि मुश्किलले कामै परे मात्र जान्थे  तर आज आधुनिकीकरण, अन्तराष्ट्रियकरण, विश्वब्यापीकरण भन्दै अनि अध्ययन, रोजगारीका र बिबाहका लागि समेत मान्छे एक ठाउँ, एक देशबाट अर्को ठाउँ, अर्को देश गर्दै संसारका कुना कुना फैलिएका छन् । जसले गर्दा सिंगो संसार नै एउटा गाउँ र यौटा सहर जस्तो भएको छ ।

यसका पनि आफ्नै सकारात्मक पक्षहरु छन् तथापि यस्तो चलन, अभ्यास र प्रवृतिले गर्दा एक ठाउँमा रोगव्याधीको महामारी आयो भने त्यो संसारभर फैलन सक्छ, जस्तै अहिलेको यो कोरोना महामारी तसर्थ, पुराना दिनहरुमा जस्तै आआफ्नै गाउँठाउँ, र आफ्नै देश समाजमा बस्नु मानव हितका निम्ति ज्यादा बुद्धिमानी हो भन्ने पनि कोरोनले विश्वलाई सिकाएको अर्को पाठ हो ।

अर्कोतर्फ, संसारमै सबैका लागि सबैभन्दा मूल्यवान कुरा जीवन हो र जब रोगब्याधि, महामारी फैलिन्छ त्यतिबेला प्रत्येक व्यक्ति, समाज र राष्ट्रलाई स्वास्थकर्मीको टड्कारो आवश्यकता पर्ने रहेछ, सुरक्षाकर्मी, वैज्ञानिक, रिसर्चर लगायतका जनशक्तिको जरुरी पर्नेरहेछ खेलाडी र कलाकारको भन्दा पनि । त्यसैले, यी क्षेत्र र यस्ता व्यक्तिमा सरकारले धेरै लगानी गर्नु बुद्धिमानी हुन्छ भनेर पनि सम्बन्धित सबैलाई राम्रैसँग बुझाइदिएको छ कोरोनले । ’बाँच्दै गरे नाँच्दै गरौँला’ भन्ने नेपाली भनाइलाइ चरितार्थ गर्दै मानिसको जीवन भन्दा विशेष अरु केही रहेनछ भनेर पनि सम्झाइदिएको छ कोरोनले अहिले ।

त्यसैले त संसारमा यतिखेर महाशक्ति राष्ट्रदेखि सानामसिना राष्ट्रको धेय पनि मानिसको ज्यान जोगाउन मै केन्द्रित रहेको छ । यतिबेला विश्वले मान्छेमान्छेबाटै डराएर भाग्नुपर्ने दुर्भाग्य भोगिरहेको छ । जीवनभर चिसो हिउँसँग बसेर पनि हिमाल सधैँ हाँसेकै छ, सधैँ एकनास बगिरहँदा पनि सागर कति शान्त छ । हिमाल र सागरको अघि मान्छे कति ठुलो हो र ! तर सबथोक पाउँदा त खुशी हुन र सन्तोष लिन नजान्ने मान्छे प्रकृति जस्तो त्यागी, निस्वार्थी बन्न कहाँ सक्छ र ! त्यसमा पनि अहंकारमा अल्झिएको आजको मान्छे ।

हो, विश्वास गर्न पनि गाह्रो हुन्छ तर बिडम्बना कति ठाँउमा कति मान्छे भनाउँदाहरुले त यस्तो दुःखको घडीमा पनि, यस्तो समस्या र संकटमा पनि उल्टै राजनीति पो गरिरहेका छन् । यस्तो बेदना र यातनामा पनि राजनीति गर्नेहरुलाई, यस्तो आपतमा पनि आकस्मिक मूल्य वृद्धि, कालाबजारी र चोरीतस्करी गर्नेहरुलाई, यस्तो रोगब्याधि महामारीको पनि फाइदा उठाउनेहरुलाई र मान्छे भएर मान्छेकै लाशहरुसँग पनि व्यापार गर्नेहरुलाई त के भन्नु ! बाआमा भन्दा पनि हाम्रो पहिलो जन्मदाता प्रकृति हो । तसर्थ पहिलो जन्मदाता प्रकृति अनि दोश्रो जन्मदाता बाआमाको असल सन्तान बनौँ । दुवै दाताको सेवा गरौँ, ऋण तिरौँ ।

कर्म बन्धन पूरा गरौँ, कर्म भार नराखौँ । मान्छेले मरेर बैंक खाताको ब्यालेन्स हैन कर्म खाताको च्यालेन्ज लिएर जान्छ । त्यसैले, बैंकमा पैसाको अमाउन्ट भन्दा कर्म खातामा असल कर्मको अमाउन्ट बढाऔँ ।

काम, क्रोध, लोभ, मोह, इश्र्या, बदला अनि अहंकारको नशामा निदाइरहेका आजका मानिसलाई कोरोनाको शंखले साँच्चै नै ब्युझाई दियोस् र प्रकृतिकै अंश मान्छेहरु पनि प्रकृति जस्तै सुन्दर शान्त कोमल, निस्वार्थ, त्यागी इमान्दार र कर्तव्यनिष्ठ बन्न सकुन् । सम्पूर्ण मानवजातिको सुन्दर, शान्त, स्वस्थ र सकारात्मक जीवनका लागि, उज्यालो, चम्किलो भविष्यका लागि कोरोना महामारी चाँडै रोकियोस्, कोभिडको आयु तुरुन्तै सकियोस् ! विश्व मानवजातिको जय होस् !

घर बनाऊ मन्दिर आफै बन्छ
आफु बन संसार आफै बन्छ । धन्यवाद !!!

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर