कैलाली । प्रहरी सहायक निरीक्षक सहित दुई प्रहरीको हत्यामा आरोपित सात जनालाई प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ ।

मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेका १३ जनामध्ये सात जनाको संलग्नता रहेको भन्दै कैलाली प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भईरहेको डीएसपी प्रतिक बिष्टले जानकारी दिएका छन् ।

प्रहरी हत्या अभियोगमा धनगढी उपमहानगरपालिका १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने राम गोपाल राना छन् । घटनामा संलग्न अन्य ब्यक्तिहरु भए नभएको र के कसरी घटाए भन्ने अनुसन्धान भइरहेको डीएसपी बिष्टले बताएका छन् ।

कात्तिक १ गते राति साढे १० बजे अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो । बिकको २ गते र साउदको आज ( मंगलबार ) बिहान स्थानीय मोहना नदीमा शव फेला परेको थियो ।

सीमावर्ती क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रणका लागि जुगेडाको दक्षिणी भागमा नियमित गस्ती गर्ने क्रममा उनीहरुको हत्या भएको थियो । धनगढी उपमहानगरपालिका १० स्थित मोहना नदीबाट अन्दाजी ४०० मिटर उत्तरमा सीमामा अबैध समानहरुको तस्करी गरिरहेका तस्करहरुको समुहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा उक्त तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारीलो हतियार प्रहार गरी दुबै जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

विक र साउदको हत्यामा संलग्न ७ जना पक्राउ

गस्तीमा निस्किएका प्रहरी विकको हत्या, शंकास्पद ११ जना पक्राउ

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर