बागलुङ । गण्डकी प्रदेशमा बिहीबार बिहान ६ जिल्लाका ४९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्ति अनुसार थपिएकाहरूमा कास्कीको पोखरा महानगरपालिकाका १९ जना, बागलुङको जैमिनी नगरपालिकामा १ जना, बरेङ गाउँपालिकाका ७ जना र गलकोट नगरपालिकाका १ जना छन् ।

यस्तै, पर्वतका १ जना, तनहुँको भिमादका ३ जना, स्याङ्जाको पुतलीबजार नगरपालिकाका १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिकाका ३ जना र देवचुली नगरपालिकाका १ जना रहेका छन् । कास्कीको पोखरा महानगरपालिका १५ का २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफ नर्स हुन भने वडा नं. ३२ का ५० वर्षीय पुरुष पनि सोही अस्पतालमा उपचाररत छन् ।

पोखरा महानगरपालिका १९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष पर्वतमै नेपाल प्रहरीमा कार्यरत छन् । पर्वतमा कार्यरत ती प्रहरी हालै मात्र काठमाण्डौबाट सरुवा भई आएका हुन् । बागलुङको जैमिनीका ५१ बर्षिया महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छिन् । बाँकी सबै सङ्क्रमितहरू विदेशबाट आएर क्वारेनटाइनमा बसेकाहरू हुन् । अद्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ हजार ७२८ पुगेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय