कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीका लागि सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता स्रोतको अभावका कारण तत्काल दिन सक्ने अवस्था नरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिष्‌दले निर्णय र बजेटमा समेत व्यवस्था भए पनि आर्थिक अवस्थामा केही सुधार आएपछि भत्ता दिन सकिने उसको भनाइ छ । हाल दिन नसक्नुको कारण अरू केही नभई सरकारको आर्थिक अवस्था अनुकूल नहुनु रहेको जनाइएको छ ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले भने, “हामीले नदिने भनेका छैनौँ, केही समय पर्खिनुहोस् भनेका छौँ । अहिलेको सङ्क्रमणका कारण सरकारसँग स्रोतको अभाव छ । यो स्थिति सहज भयो र सरकारको आर्थिक अवस्थामा सुधार भयो भने दिन्छौँ ।”

तीन अर्बभन्दा बढी माग

तीनवटै सुरक्षा निकायले भत्ता निकासा गर्न माग गर्दै तीन अर्ब रुपैयाँभन्दा बढीको विवरण अर्थ मन्त्रालयमा बुझाएका छन् । उक्त भत्ताका लागि गृह मन्त्रालयले नेपाल प्रहरीका ५० हजार र सशस्त्र प्रहरीका ३५ हजार सुरक्षाकर्मीलाई गरी झन्डै सवा दुई अर्ब रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरेको जनाएको छ ।

नेपाली सेनाले पनि कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि खटिएका सेनाका लागि ९६ करोड रुपैयाँ माग गरेको जनाएको छ । जसको बारम्बार ताकेता गरिएको तर हालसम्म अर्थ मन्त्रालयले रकम निकासा नगरेको ती निकायहरूले जनाएका छन् ।

सरकारको निर्णयमा उनीहरूको परिचालन अनुसार दैनिक ३ सयदेखि शत प्रतिशतसम्म भत्ता दिने उल्लेख छ । मन्त्रिपरिषद्को गत वर्ष चैत्र १६ गतेको बैठकले कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।

मापदण्ड बन्नै बाँकी

सुरक्षाकर्मीहरू लकडाउनको कार्यान्वयन, क्वारन्टीन र आइसोलेशन सेन्टरको व्यवस्थापन तथा शव गाड्ने तथा जलाउनेदेखि सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको खोजीजस्ता काममा परिचालन गरिएका थिए ।

सहसचिव शर्माले कसले पाउने भन्ने बारेमा मापदण्ड समेत बनाउनुपर्ने अवस्था रहेको बताएका छन् । उनले भने, “सबै सुरक्षाकर्मीले पाउने भन्ने हैन । स्वास्थ्यकर्मीलाई मापदण्ड बनाएर भत्ता दिएजस्तै सुरक्षाकर्मीलाई कति समयसम्म खटिएको, कुनकुन काममा खटिएको जस्ता कुरा तोकेर भत्ताको मापदण्ड बनाउनुपर्छ । त्यो काम पनि गर्दै छौँ ।”

काममै खटिएका नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाका गरेर पाँच हजारभन्दा बढी सुरक्षाकर्मी कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको बताइएको छ ।

दशैँ, तिहार र छठजस्ता पर्व नजिकिएका बेला भत्ता पाउने आशामा सुरक्षाकर्मी रहेका देखिन्छन् । सङ्क्रमणसँग जुझ्दै काम गरिरहेका सुरक्षाकर्मीले बेलामै भत्ता पाए उनीहरूको मनोबल बढने सुरक्षा अधिकारीहरू बताउँछन् ।साभार: बीबीसी।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय