रामेछाप । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कालाई जबरजस्ती करणीको अभियोगमा जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अनुसन्धान सकेर बयानका लागि अदालतमा पेस गरेको बेला कोरोना संक्रमण देखिएपछि अदालतले खड्कालाई थप १५ दिन प्रहरी हिरासतकै आइसोलेसनमा राख्न आदेश दिएको थियो ।

जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले शुक्रबार उक्त आदेश दिएको हो । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले आफूमाथि जबरजस्ती करणी गरेको खड्काविरुद्ध जाहेरी दर्ता गराएकी थिइन् । खड्काकाविरुद्ध परेका ३ वटामध्ये अन्य दुई मुद्दामा भने धरौटी माग भएको छ ।

खड्काविरुद्ध धोवी बजार सडक तथा नाला निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई शरीर बन्धक बनाएको मुद्दामा २ लाख र स्थानीय शेरबहादुर खड्काको जग्गा लेनदेनमा ठगी गरेको अभियोगमा ५० लाख धरौटी माग गर्ने फैसलासमेत इजलासले गरिएको छ । अदालतको प्रक्रिया पूरा गरी खड्कालाई रामेछाप कारागार चलान भएका छन् ।

शरीर बन्धक मुद्दामा दर्पण घिसिङको जाहेरीपछि पक्राउ परेका खड्काविरुद्ध जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका बेला थप दुई मुद्दा दर्ता भएका हुन् । प्रहरीले तीनवटै मुद्दा अनुसन्धानका लागि खड्कालाई २५ दिन थुनामा राखेको थियो । श्रोत :कान्तिपथ

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय